
काठमाडौं , राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाउनु भएको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले राज्य आतंकका कारण जनताले आफ्नो अधिकारका लागि आवाज उठाउनसमेत नपाएको बताउनु भयो । ‘अहिले राज्य आतंक चलिरहेको छ, राज्य आतंक सबैभन्दा ठूलो हुन्छ । किनकी उसको हातमा गोली हुन्छ, उसको हातमा कानून हुन्छ, उसको हातमा अदालत हुन्छ । उसले जहाँ पनि हान्न सक्छ’ नेता ठाकुरले भन्नु भयो । नेता ठाकुरले सरकारले अतंक मच्चाउदा इनाम र प्रशंसा पाउने तर जनताले अधिकार माग्दा जेल जानुपर्ने, गोली खानुपर्ने अवस्था रहेको बताउनु भयो । अहिले लोकतन्त्र भए पनि केन्द्रीकृत खालको लोकतन्त्र रहेको जिकिर गर्नु भयो ।
