विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रहः गृहमन्त्री रामबहादुर थापा

२७ फाल्गुन २०७५, सोमबार १२:०७

बुटवल , गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको बताउनु भएको छ । प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा पुग्नु भएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग यस्तो कुरा बताउनु भएको हो । उहाँले जनमत संग्रहबारे सोधिएको प्रश्नमा मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताउनु भयो । गृहमन्त्रीले राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रष्ट पार्नु भयो । सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री रामबहादुर थापाले अन्तिम विदाई कार्यक्रम भन्नु भएको छ । गृहमन्त्री बादलले विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह समेत गर्नु भयो ।
वार्तामा नआए शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले ‘राज्यविरोधी, संविधान विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौति दिन खोजिएको छ तर त्यस्ता तत्वलाई नियन्त्रण र निस्तेज गर्ने प्रकृया अघि बढाइसकेको बताउनु भयो ।
सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।