
काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै हेलिकोप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको हो ।
यसैबीच, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले घटनाप्रति दुःख ब्यक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृत्युबाट आफू दुखी भएको बताउनु भयो । मुख्यमन्त्री राईले सन्देशमा विद्यार्थी जीवन हुँदै सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्नु भएको अन्त्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको र दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको सन्देशमा उल्लेख गरिएको छ ।
