विकासमा आशा जगाउँदै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका

१४ फाल्गुन २०७५, मंगलवार १२:१८

अर्घाखाँची , जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकावाहेकका नगरपालिका र गाउँपालिकाहरू २०७३ सालमा स्थापना भएका थिए । यसरी स्थापना भएका ५ वटा स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाले आफ्नै भवन निर्माण सम्म्पन्न गरी सेवा प्रदान गरेको छ । कुल ९ वटा कोठा र शौचालय निर्माण सम्पन्न गरिसकेको यो नगरपालिकाले अबको केही दिनभित्र थप सातवटा कोठा र सभाहल समेत निर्माण सम्पन्न हुने बताएको छ । नगरपालिकाले आफ्नो भवनको अलावा वर्षैंदेखि अव्यवस्थित श्री वीरेन्द्र आधारभुत विद्यालयलाई समेत व्यवस्थित गरेको छ । स्थानीय सरकार आउनुपूर्व विद्यालयको प्राङ्गणबाट यातायातका साधनको अलवा चौपाया दौडने कारण पठनपाठनमा समस्या खेपेको अनुभव सुनाउँदै स्थानीय सरकारले विद्यालयको समस्या सम्बोधन गरेको सो विद्यालयका प्रअ गोविन्द केसीले बताए ।
भूमिकास्थान नगरपालिकास्थित धारापानीको मिलनचोकदेखि सिख्र गाउँलाई लक्षित गरेर कच्ची सडक निर्माण कार्यले समेत तीव्रता लिएको छ । जुन सडक सम्पन्न हुनासाथ करिव ३ सय घरधुरी लाभान्वित हुने छन् । यसैगरी सोही सडकको यात्राबाट पुगिने श्री गौरी आधारभुत विद्यालयको एउटा कोठाबाट सेवा प्रदान गरेको भुनपा वडा नम्बर ४ का लागि आफ्नै भवन निर्माणको कार्यले समेत गति लिएको छ । श्री गौरी आधारभुत विद्यालयमा अध्ययन–अध्यापन गराउनेहरूका लागि विगतको समयमा घरबाट पिउने पानी बोकेर विद्यालय आउनुपर्ने समस्यालाई समेत भुमिकास्थान नगरपालिकाले समाधान गरेको छ ।
यस्तै, वर्षौंदेखि खेप्दै आएको खानेपानी समस्या अहिले सहज हुँदै गएको छ । स्थानीय सरकारले एक घर, एक धारा भन्ने नीतिलाई अघि बढाएपछि फलाम खिल्जी, खिल्जी, असुरकोट, ढाकावाङ, सेङलेङको आरीचौर, सिख्रलगायत स्थानका करिव एकहजार घरधुरी पिउने पानीको पहुँचमा पुगेका हुन् । विगतमा खाने पानीका लागि घन्टौँ पैदल यात्रा गरी लाइनमा बस्नुपर्ने र एकआपसमा झैझगडा समेत गर्नुपर्ने समस्या आफ्ना जनप्रतिनिधिहरूले समधान गरेको स्थानीयको भनाई छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणअन्तर्गत नगरपालिकाको मातहतमा रही साउनेपानी मुहानबाट इलेक्ट्रिक लिफ्टिङद्वारा सिख्र गाउँका १३७ र भुत्कादुला मुहानबाट सोलर लिफ्टिङद्वारा फलामखिल्जीमा ११४ गरी जम्मा २३७ घरधुरीहरू अहिले खानेपानीको पहुँचमा पुगेको कुरा सब इन्जिीनियर जितेन्द्र श्रेष्ठको भनाई छ ।
आफ्नो नगरपालिकाभित्र रहेका १० वटै वडाहरूमा ५ वर्षभित्रै प्रत्येकको घरधुरीमा खानेपानी धारा उपलब्ध गराउने गरी आफूहरू अघिबढेको र कोही पनि कुवाको पानी पिउनुपर्ने बाध्यतामा नरहने कुरा नगरप्रमुख रेशम थापाले बताए । उनका अनुसार सम्पूर्ण नगरवासीको समस्या नगरपालिकाबाटै छिटो–छरितो समधान गर्ने र सुशासन तथा पारदर्शिता जस्तो नीति आफूले अपनाएकोले नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने गरी अगाडि बढेको बुझियो । यो समाचार मुक्तिनाथ भुसालले घटना र विचार साप्ताहिकमा लेख्नुभएको छ।