
पोखरा , नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताउनु भएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको पोखरामा उद्घाटन गर्दै उहाँले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउनु भयो । सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताउनु भयो । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उहाँले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाउनु भयो । ०७ सालदेखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर संघर्ष गरेको कांग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैँ क्रियाशील बन्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
