
काठमाडौं , राजधानीमा राँगोले आक्रमण गर्दा एकजनाको उपचारको क्रममा मृत्यु भएको समाचार प्राप्त भएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी अन्दाजी ६४ वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो । महर्जनलाई आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएर दुई राउन्ड गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत थानकोटका प्रमुख डीएसपी कुमार विक्रम थापाका अनुसार मर्निङवाक निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको हो ।
‘गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । राँगोले मान्छेमाथि आक्रमण गरेपछि प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेका थिए । समात्न नसकेपछि प्रहरीले मच्छेगाउँबाट खेददै दहचोक पुगेपछि राँगोमाथि गोली चलाएको डीएसपी थापाले बताए ।
