
काठमाडौं , नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक समूहको तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्यार्टिक लयर्स एसोसिएसन डिएलएको तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।
डिएलएद्वारा आयोजित ‘उम्मेदवारसँग पत्रकार अन्तक्र्रिया’ सँगै चुनावी अभियान शुरु भएको र शुक्रबारदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिइएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने अठोट व्यक्त गरे ।
कानून व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको नेपाल बार एशोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी आठ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । बारको नयाँ नेतृत्वका लागि डिएलएले महिला उपाध्यक्षमा कविता थापा कार्की प्रदेश उपाध्यक्षमध्ये एकबाट डिल्लीबहादुर कार्की, २ बाट सुधीरकुमार कर्ण, ३ बाट राजेश्वर अधिकारी, गण्डकीबाट नीरञ्जन लाल राजभण्डारी, ५ बाट सुनिलकुमार श्रेष्ठ, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेकेन्द्रराज जोशीलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी महासचिवमा लीलामणि पौडेल, कोषाध्यक्षमा तेजबहादुर रावल, दलित सदस्यमा रूपनारायण विक, उपत्यका बाहिरको मधेशी सदस्यमा शेषमान यादव, खुला मधेशीमा मनोजकुमार चौधरी, उपत्यका बाहिरको आदिवासी जनजाति सदस्यमा अमृतकुमार लामा, खुला आदिवासी जनजातिमा कैलाश गुरुङ, उपत्यका बाहिरको महिला सदस्यमा शिवाली जोशी ९भण्डारी० र खुला महिला सदस्यमा सोनी रघुवंशले उम्मेदवारी दर्ता गरेका छन् ।
डिएलएले उठाएका उम्मेदवारमध्ये उपत्यका बाहिरको सदस्यका लागि गोविन्दप्रसाद सिग्देल, खुला अन्य सदस्यका लागि रमेशकुमार ढकाल, कृष्ण घिमिरे ९भुषण०, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपीशर्मा सुवेदी र टेकप्रसाद सुवेदी रहेका छन् । उम्मेदवार छनोटका लागि डिएलएले गठन गरेको वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी संयोजकत्वको समितिले यी उम्मेदवार छनोट गरेको डिएलएकी महासचिव लक्ष्मी रावल दाहालले जानकारी दिए ।
आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएशन एनएलएको तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारले न्यायपालिकाभित्रको भ्रष्टाचार लगायतका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा छापिएको छ ।
