
काठमाडौं, नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सरकार आफ्नो सुविधा वृद्धिका लागि केन्द्रित भएको आरोप लगाउनु भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची–महाकाली अभियानबारे जानकारी गराउन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समृद्धिको सपना बाँडेको सरकार आफ्नै सुविधा बढाउन केन्द्रित भएको बताउनु भएको हो । केन्द्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी हुँदा जनता निराश भएको गजुरेलले बताउनु भयो । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पदमा बसेकाहरुका लागि मात्र भएको उहाँको आरोप छ ।महंगी, महिला हिंसा र गैरकानुनी कारोबार मौलाएको बताउदै गजुरेलले भ्रष्टाचार र दण्डहीनताका अनेक घटनाले सरकार कमजोर बनेको बताउनु भयो । समाजवाद उन्मुख संविधान जारी भएको देशमा स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने बताउदै उहाँले नेपालमा सरकारले नै माफियाकरण बढाएको बताउनु भयो ।
