राप्रपाले प्रधानमन्त्री ओलीसमक्ष धर्मनिरपेक्षता खारेज, संघीयताबारे जनमत संग्रहसहित २२ बुँदे ज्ञापन पत्र बुझायो

७ फाल्गुन २०७५, मंगलवार १३:४६

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न २२ बुँदे माग पेस गर्नु भएको छ । १० वर्षको सशस्त्र युद्ध र त्यसपछि यताका १२ वर्षको संक्रमणकालपछि जारी भएको संविधानले पनि मुलुकलाई गति दिन नसक्नु त्रुटिगत व्यवस्था र नीतिको कारण भन्दै थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष धर्मनिरपेक्षता खारेज, संघीयताबारे जनमत संग्रहसहित २२ बुँदे माग राखेर ज्ञापन पत्र बुझाउनु भएको हो । अध्यक्ष थापाका साथमा राप्रपाका अन्य पदाधिकारी र नेताहरुको सहभागिता थियो । राप्रपाले मंगलबार केन्द्रमा प्रधानमन्त्री, प्रदेश राजधानीमा मुख्यमन्त्री र जिल्लामा जिल्ला प्रमुख अधिकारीसमक्ष सो ज्ञापन पत्र बुझाइरहेको छ । मंगलबारबाट देशव्यापी संघर्षमा उत्रिएको राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको छ । फागुन मसान्तसम्म आफूहरुको माग पूरा नभए चैतको पहिलो हप्ताबाट सशक्त आन्दोलनमा उत्रिने चेतावनी यसअघि नै अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन मार्फत दिइसक्नु भएको छ । धर्म निरपेक्षता खारेज, पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दू राष्ट्र कायम गरिनु पर्ने, संघीयताबारे जनमत संग्रह गर्नुपर्ने, राजासमेत अटाउने व्यवस्था कायम गरिनु पर्ने लगायत २२ बुँदे माग अघि सारेको राप्रापले सबै धर्मको मठमन्दिर र मस्जिदमा लगाएको कर र सरकारको नियन्त्रण बन्द गर्न समेत राप्रपाले माग गरेको छ।उक्त मागहरु पूरा गराउन मुलुकभर दबाब सृजना गर्न स्वाभिमान यात्रा गर्न लागिएको राप्रपाले जनाएको छ । ताप्लेजुङबाट सुरु हुने सो यात्रा कैलाली, कञ्चनपुर हुँदै ३० गते काठमाडौंमा आएर समापन हुने छ ।