भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, उन्मुक्ति दिनुहुँदैनः पूर्वमन्त्री तामाङ

५ फाल्गुन २०७५, आईतवार १७:१६

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले भन्नु भयो, “यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।” उहाँले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पार्नु भयो । तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो, “भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।”