पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाइयो

५ फाल्गुन २०७५, आईतवार १३:१३

काठमाडौं , गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उहाँले आफ्नो युट्युब च्यानलबाट हटाउनु भएको छ । स्रोतका अनुसार दबाबपछि उहाँ आफैँले गीत हटाउनु भएको हो । उहाँले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रयोग गर्दै चित्त नबुझेका कुरामा ब्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताउनु भएको छ ।
उहाँले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ, “म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु ।”
उहाँले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद्, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले चढ्ने महंगो हेलिकप्टरसँगै सरकारको बागडोर सम्हाल्नेहरुले गरिरहेको अनियमितताप्रति ब्यग्य गर्दै गीत सार्वजनिक गर्नु भएको थियो । उक्त गीतलाई लिएर नेकपा तथा त्यसका भ्रातृ संस्थाहरुले विरोध जनाएको बताइएको छ । “हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु । सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो,” उहाँले अगाडि लेखनु भएको छ ,,“ मैले कुनै राजनैतीक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसीमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुनजुन शब्दमा असन्तुष्टी देखियो म ति शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझिएको छु ।”
उहाँले आपत्ति जनाइएका शब्द निकालेर गीत पुन लिएर आउने जानकारी दिँदै लेख्नु भएको छ, “मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।”