वर्तमान सरकार गतिहीन भयोः रामचन्द्र पौडेल

२९ माघ २०७५, मंगलवार १४:१९

चितवन, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो, ,‘दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।’
सरकारप्रति कडारुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गर्नु भयो । उहाँले प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको बताउनु भयो । अर्को एक प्रसङ्गमा उहाँले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताउनु भयो । नेता पौडेलले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताउनु भयो । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गर्नु भयो ।