
काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने भएको छ । राप्रपाले आगामी फागुन १५ गतेदेखि सुरु गर्न लागेको स्वाभिमान यात्रा फागुन ३० गतेसम्म सञ्चालन हुने छ । राप्रपाले हिन्दु राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्न स्वाभिमान यात्रा सुरु गर्न लागिएको जनाएको छ । ताप्लेजुङ सदरमुकामबाट अध्यक्ष कमल थापाले औपचारिक उद्घाटन गरेपछि सुरु हुने यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने बताइएको छ । राप्रपाको स्वाभिमान यात्रा कञ्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर फागुन २९ गते काठमाडौं प्रवेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।राप्रपाले फागुन ३० गते दशरथ रंगशालामा विशाल सभा आयोजना गरेर समापन गर्ने कार्यतालिका बनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार ताप्लेजुङबाट विभिन्न जिल्ला हुँदै काठमाडौंसम्मको १५ दिने स्वाभिमान यात्राका क्रममा २२ सय ६० किलोमिटरको दूरी तय गरिने छ ।
