गाडी खरिदमा गरेको अनियमिततामा दोषी देखिएकालाई कारबाही गर्नु पर्छः पहाडी

२७ माघ २०७५, आईतवार १२:४५

बुटवल, प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषी देखिएकालाई कारबाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने मानव अधिकारवादी नेता कृष्ण पहाडीले बताउनु भएको छ ।
रिर्पोटर्स क्लब प्रदेश ५ कार्यालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारवादी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गर्नु भएको हो । नागरिक समाजले जहिले पनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको पहाडीले बताउनु भयो । फरक प्रसंगमा उहाँले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएला प्रकरणमा अमेरिकाको हस्तक्षेपका विषयलाई लिएर दिएको प्रतिक्रिया कूटनीतिक रुपमा कमजोरी भएको बताउनु भयो । पहाडीले नेपालमा भष्ट्राचार तीनै तहका सरकारमा देखिएको भन्दै भष्ट्रचारमा शून्यशहनिशीलताका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
वाइडबढी विमान खरीद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा संलग्नताको आरोप लागेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो कमजोरी गरेको समेत उहाँले बताउनु भयो ।स्थानीय तहमा समेत भागभन्डा गरेर भ्रष्टाचार बढेकोसमेत उहाँले खुलासा गर्नु भयो । क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।