
काठमाडौं , नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफ्नो नाम लिएर कसैले विभिन्न दूतावासमार्फत् ठगीको प्रयास गरिरहेको भन्दै त्यस्ता व्यक्तिलाई कारवाहीको माग गर्नु भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नु भएको छ, ‘‘म र मेरो सचिवालयको बदनाम गर्ने तरिकाले केही दिनदेखि केही व्यक्तिहरु नेपालस्थित विभिन्न देशको राजदूतावास र विभिन्न संघसंस्थामा गएर मेरो र सचिवालयको नाम जोडेर आफ्नो काम लिन लागिरहेको खबर जानकारीमा आएको छ ।’’ उहाँले स्पस्ट पादै भन्नु भएको छ , ‘‘म अहिले संघीय संसदको सांसद र नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेको छु । मेरो सचिवालयमा अहिले लक्ष्मण थपलिया निजी सचिव रहेको जानकारी गराउँदछु । निज थपलिया बाहेक अरु कोही व्यक्तिले मेरो सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गरी मेरो सचिवालयमा सिधै सम्पर्क गर्नुहुनको लागि म विनम्रतापूर्वक आग्रह गर्दछु । यस्तो गैरजिम्मेवारी कार्यमा संलग्न व्यक्तिलाई अबिलम्ब कानुनको दायरामा ल्याई कारबाही गर्नको लागि हार्दिक अनुरोध गर्दछु ।’’

