काठमाडौँ , प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाउनु भएको छ । भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविश्यको फैसला नै यसैले नै गर्ने गरि हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताउनु भयो ।

संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संबाद कार्यक्रममा बोल्दै डा। भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यहि देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताउनु भयो ।
अन्तर संबादमा बोल्दै डा। भट्टराईले पार्टी र सरकारको आ आफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणलाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार ब्यक्त गर्नु भयो । उहाँले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहेपनि त्यसले सदियौ देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताउनु भयो ।
अन्तर संबादमा नेपाली काँग्रेसले जारी गरेको विज्ञप्तिको बारेमा सरकारको धारणाको विषयमा गरिएको प्रश्नमा सरकारको वक्तव्यमा मुलभुत रुपमा कुनैपनि सार्वभौम सत्ता सम्पन्न मुलुकले स्वतन्त्र रुपमा आफ्नो निर्णय गर्ने अधिकार पाउँनुपर्छ र त्यसमा कुनैपनि समस्या आएमा शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान खोजिनुपर्छ भन्नेनै सरकारको वक्तव्यको मुख्य सार रहेकाले त्यसमा काँग्रेसको कहाँ निर असहमति हो काँग्रेसलेनै जवाफ दिनुपर्ने बताउनु भयो ।
