काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता हासिल गरिरहेको समेत दावी गर्नु भयो ।

बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उहाँले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पार्नु भयो । जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारले मुलुकको आवश्यक्ता अनुसार नयाँ–नयाँ प्रविधि भित्रयाउँदै जाने प्रधानमन्त्री ओलीको योजना छ । त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको प्रगतिको कामना पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताउनु भयो । उहाँले नेपाल टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गर्नु भयो । नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको उल्लेख गर्दै उहाँले नेपाल टेलिभिजनमा राजनीतिक कार्यकर्ता बनेर गडबडी गर्न नदिने पनि स्पष्ट पार्नु भयो । मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताउनु भयो ।
