राष्ट्रिय सभाको बैठकमा अबरोध, बैठक १५ मिनटका लागि स्थगित

१४ माघ २०७५, सोमबार १२:१५

काठमाडौं , नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठकमा अबरोध सिर्जना गरेको छ । कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई पेश गर्ने तयारी गरेपछि कांग्रेसको सोमबारको राष्ट्रिय सभा बैठक अबरोध गरेको हो । कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएपछि अध्यक्ष गणेश तिमिल्सिनाले बैठक १५ मिनटका लागि स्थगित गर्नु भएको हो ।
सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई खारेजीको प्रक्रियामा अगाडि बढाउँदै प्रदेश सरकारको मातहतमा लगेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

प्रतिनिधि सभा बैठकमा मार्सल लगाएर पारित गरिएको चिकित्सा शिक्षा विधेयकलाई सरकारले अनुमोदनका लागि राष्ट्रिय सभामा सोमबार पेस गर्दै छ ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयकबाट हटाइएको गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल यथावत राख्नुपर्ने माग गर्दै आएको छ । माग पूरा भएन भने राष्ट्रिय सभाको बैठक चल्न नदिने कांग्रेसले बताएको छ ।

कांग्रेसको अवरोध हुने भएपछि सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, महासचिव मनोहरप्रसाद भट्टराई र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलबीच आजको रणनीतिका विषयमा गोप्य परामर्श भएको छ ।