काठमाडौं, प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर सहिद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्नुहुने कार्यक्रम छ । सालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।यसै गरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने कार्यक्रम छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ ।माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
