हिमपातका कारण लुक्ला र फाप्लुमा उडान बन्द

९ माघ २०७५, बुधबार १३:१७

काठमाडौं,सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हिमपातका कारण उडान बन्द भएको छ।ती विमानस्थलमा गएरातिदेखि परेको पानी र हिमपातका कारण उडान हुन सकेका छैनन्।

विमानस्थल कार्यालयका टावर कन्ट्रोल रुमका प्रमुख सीताराम भण्डारीका अनुसार वर्षासँगै हिमपातका कारण यी दुई विमानस्थल हवाई सम्पर्कभन्दा बाहिर रहेको बुझिएको छ ।विराटनगर, भद्रपुर, भैरहवा, चितवन, पोखरा, नेपालगन्ज, धनगढी, सिमरा विमानस्थलमा भने उडान सुचारु भएको उहाँको भनाइ छ।उडान सुचारु भएको विमानस्थलमा पनि मौसमका कारण सामान्य असर भने परेको उहाँले बताउनु भयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसमका कारण एयर ट्राफिक जाम केही बढेको छ, भण्डारीले भन्नु भयो ।सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सयभन्दा बढी आन्तरिक र ८० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ।