दुई तिहाइको वर्तमान सरकारबाट जनताले धेरै आशा गरेका छनः माधव नेपाल

२ माघ २०७५, बुधबार १६:१४

भक्तपुर,  नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनु भएको छ ।   भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उहाँले  अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको  बताउनु भयो । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उहाँले  सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताउनु भयो ।   वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पुर्याउनुपर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताउनु भयो ।   समय समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रालिका सञ्चालक रामशरण देउजा, राजुराम मुनकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा बजगाई ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको  बताउनु भयो ।कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।