नेपाल विद्यार्थी संघको कार्यकाल माघ २ मा सकियो

२ माघ २०७५, बुधबार ११:२३

काठमाडौं–  मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल आज अर्थात माघ २ मा सकिएको छ । संशोधित विधानअनुसार दोस्रो पटक  ५ महिना म्याद थपिएको थियो । थपिएको समयसीमा भित्र १४ जिल्लामा मात्र अधिवेशन भएकाले वर्तमान कार्यसमितिको म्याद फेरि थप्ने या तदर्थ समिति बनाउने भन्नेमा नेविसंघका नेताहरु विभाजित छन् । कतिपयले यहि कार्यसमितिलाई अरु ४ महिना म्याद थपेर महाधिवेसन गराउनुपर्ने पक्षमा छन् भने कतिपय तर्दथ समितिमार्फत महाधिवेशन गराउनुपर्ने पक्षमा लविङ गरिरहेका छन् ।

तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएको भन्दै नेविसंघ केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् ।म्याद नथपेकोे अवस्थामा बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल आजबाट स्वतः सकिएको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेरपनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले केही नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ । अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप सुरु गरेका छन् ।सभापति देउवानिकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् । त्यसैगरी सिटौला पक्षबाट सुशील भटट्, बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् ।