जनकपुर– प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिव विद्यानाथ झालाई हातपात गरेको विषयमा आजदेखि छानविन सुरु भएको छ।
आइतबार घटनापश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानविन सुरु गरेको हो।
सोमबार टोलीको बैठक बसेर दुवै पक्ष र घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुसँग बुझ्ने काम सुरु गर्ने टोलीका सदस्य समेत रहनु भएका प्रदेश २ का मुख्यसचिव दीपक सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार घटनाको छानविन गरी सात दिनभित्र प्रतिवेदन तयार गरेर बुझाइने छ।
तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्यसचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाल सदस्य छन्।
