हात  मिलाएर मात्रै पार्टी एकता हुँदैनःरामचन्द्र पौडेल

१८ पुष २०७५, बुधबार ११:३३

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताउनु भएको छ ।

काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताउनु भयो ।

उहाँले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिनु भयो । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो , “पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैन ।”