नेपाली कांग्रेसले आगामी माघ पाँच गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्ने

१८ पुष २०७५, बुधबार ०९:३९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी माघ पाँच गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्ने तयारीमा लागेको छ । यसका लागि नेपाली कांग्रेसले सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ । जनआन्दोलन २०४६ सालको तयारीका लागि गरिएको राष्ट्रय भेलाको तिथि, मिति पारेर कांग्रेसले आन्दोलन गर्न लागेको हो ।

आगामी एजेन्डाका लागि कांग्रेसले महासमितिको बैठक सकिए लगत्तै छलफल आरम्भ गरेकोछ । आन्दोलनका एजेन्डा तथा स्वरूपका विषयमा परामर्श गर्न छलफल आयोजना गरिएको नेपाली काँग्रेसले बताएको छ ।

पहिलो चरणमा मिडिया कर्मी, लेखक तथा बुद्धीजीविहरूसँगको छलफल सम्पन्न भइसकेको छ । दोस्रो चरणमा विभिन्न पेसाकर्मी तथा पेसासँग सम्बन्धित संघ संस्था र तेस्रो चरणमा नागरिक समाजका अगुवाहरूसँग छलफल गरी पुसको अन्तिम साता केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको समाचार स्रोतले जनाएको छ ।

निर्माला पन्तको हत्या तथा बलत्कार प्रकरणका अपराधीहरूलाई सरकारले बचाएको, वाइडबडी बिमान खरिद प्रकरणमा पौने सात अर्ब रूपैंया भ्रष्टाचार गरिएको, नेपाल टेलिकमको फोरजी सेवा प्रवाह कार्यक्रममा २३ अर्ब रूपैयाँ हिनामिना गर्न लागिएको, निर्माण व्यवसायीलाई घुस मागेर हैरान गरिएको लगायतका मुद्दा उठाउने तयारी कांग्रेसले गरेको छ ।

साथै संघीयताको कार्यान्वयन तथा तराई मधेसका माग सम्बोधन हुनेगरी संविधान संसोधनका लागि दबाव दिने तयारी पनि नेपाली कांग्रेसले गरेको छ । तर आन्दोलनको स्वरूपमा सन्दर्भमा भने अन्योलता बाँकी नै रहेको बुझिएको छ । बन्द हड्ताल जस्ता परम्परागत आन्दोलनले जनतालाई थप समस्या पर्ने र जनता भड्किन सक्ने भन्दै लेखक तथा बुद्धीजीविहरूले आन्दोलनको नयाँ स्वरूप ल्याउन सुझाव दिएका छन् ।

पोस्टर, पाम्लेटिङ, रिले अनशन जस्ता प्रचारात्मक कार्यक्रम अघि सार्दा जनताले साथ दिने सुझाव एकथरीको छ भने अर्काथरीले सडक अवरुद्ध गरी जनजीवन ठप्प नपारेसम्म सरकारले आफ्ना गल्ती नसच्याउने भन्दै कडा खालको आन्दोलन गर्न सुझाव दिएका छन् । साथै आगामी चुनाव जित्ने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, संघीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न तथा गैसस र अन्तरराष्ट्रिय गैससबाट प्रभावित नहुन सुझाव दिएका थिए ।