कर्मचारी समायोजन अध्यादेशको विपक्षमा कांग्रेस

१७ पुष २०७५, मंगलवार ११:०५

काठमाडौं– नेपाली कांग्रेसले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि अस्विकार प्रस्ताव दर्ता गराएको छ। सरकारले संसदमा दर्ता गराएको अध्यादेशमाथि कांग्रेस नेता गगन थापाले अस्विकार गरियोस् भन्ने प्रस्ताव दर्ता गराउनु भएको हो ।थापासँगै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि अध्यादेशको विपक्षमा प्रस्ताव दर्ता गराउनु भएको छ ।

आज संघीय संसदको प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ को स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुहुने छ ।

कांग्रेसले राज्य व्यवस्थाका तहअनुसार कर्मचारीलाई विभेद गरिएको आरोप लगाएको छ। स्थानीय, प्रदेश तथा संघमा काम गर्ने कर्मचारीहरुलाई एकै पटक सरकारी सेवामा प्रवेश गरेपनि सेवा सुविधामा फरक व्यवस्था गरिएकोप्रति कांग्रेसले असन्तुष्टि जनाएको हो।

यसबाहेक आजको बैठकमा अन्य ६ वटा विधेयकसम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ। बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ।