कांग्रेसले आज देशैभर मेलमिलाप दिवस मनाउँदै

१६ पुष २०७५, सोमबार १५:२८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ । वि।सं। २०३३ साल पुस १६ गते उक्त पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथै गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले सबैलाई निर्देशन पनि दिनु भएको थियो । उक्त दिवसका अवसरमा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरिने बताइएको छ । सो कार्यक्रमका लागि देशका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ ।