काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गर्नु भएको छ ।अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दावी समेत गर्नु भयो । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गर्नु भयो ।
अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।
राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ । अध्यक्ष राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएकोसमेत बताउनु भयो ।
