इलाम, नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनु भएको छ ।
आइतबार इलाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको बताउनु भयो । विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हुँदै जाने प्रक्रिया होु, उहाँले भन्नु भयो ।
नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गर्नु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले जनताको अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गर्नु भयो ।पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उहाँले बताउनु भयो । उहाँले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन सबैमा आग्रह गर्नु भयो ।
