काठमाडौं खानेपानी मन्त्री विना मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीकै कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौंमा आउने मिति सार्दै जानु परेको बताउनु भएको छ ।

मन्त्री मगरले कम्पनीले सहमति कार्यान्वयन नगरेकै कारण दसैं अघि काठमाडौंमा पानी ल्याउने सरकारको योजना पूरा हुन नसकेको बताउनु भयो । उहाँले अब आईन्दा मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भनेर मिति नतोक्ने बताउनु भयो । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको काम सिएमसी कम्पनीबाटै गराउन चाहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विश्वसनीय वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
मन्त्री मगरले सिएमसी कम्पनी सरकारका लागि ‘निल्नु न ओकल्नु’को अवस्थामा रहेको उल्लेख गर्दै त्यसको कानुनी उपचारमा सरकार लागि परेको बताउनु भयो । उहाँले बजेटको अभाव देखाएर सिएमसी कम्पनीले ठेक्का सम्झौंताबाट पछि हटने काम गरिरहेको उल्लेख गर्दै समस्या समाधान गर्न लाग्ने समयको एकीन नभएको समितिलाई जानकारी गराउनु भयो ।
मन्त्री मगरले सकेसम्म सिएमसी कम्पनीबाटै मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गराउने, नभए अन्य विकल्प खोजी गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको काममा नेपाली पक्षले आर्थिक हिनामिना गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिनु भयो ।
