देउवा र पौडेललाई नेता मान्न सक्दिनः सिटौला

१२ पुष २०७५, बिहीबार १४:२०

काठमाडौं– काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालले चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत महिनाभित्र पार्टीको १४ औं महाधिवेशन नबोलाए काँग्रेस पार्टी कमजोर हुने दावी गर्नु भयो ।

‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु । यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भएपनि नयाँ नेतृत्व चयन गर्नुपर्छ’, नेता सिटौलाको माग छ ।

त्यस्तै उहाँले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले नेता मान्न सक्ने अवस्था नरहेको पनि बताए । ‘उहाँहरु देउवा र पौडेल दुबैमा नेतृत्व गर्ने क्षमता देखिएन । त्यसकारण म उहाँहरुलाई नेता मान्न सक्दिन । त्यो क्वालिटी उहाँहरुमा छैन ।’

नेता सिटौलाले काँग्रेसमा हिन्दु राज्यको आवाज उठेपनि त्यो अहिलेको सन्दर्भमा जायज नभएको बताउनु भयो । ‘काँग्रेस संविधानको मर्मभन्दा बाहिर जान सक्दैन र जाँदैन । पछि संविधान संशोधन भए त्यसपछि नै सोचौला’ सिटौलाको भनाई छ ।

त्यस्तै उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भयो ।

‘प्रचण्डजीले संसदमा दिएको अभिव्यक्तिप्रति काँग्रेसको कडा आपत्ति छ, प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनु भनेको अधिनायकबादको जन्म हुन लाग्नु हो । यसवारे म चाँडै प्रचण्डसँग भेटेर छलफल गर्छु’ सिटौलाले भन्नु भयो , ‘संविधान र लोकतान्त्रिक पद्धतिमाथि यसरी प्रश्न उठाउनु गम्भिर विषय हो ।’

नेकपाका अध्यक्ष प्रचण्डले बुधबार संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दा कम्युनिष्ट लोकतान्त्रिक पद्दतिमा छिटो छरितो काम हुन नसकेको भन्दै कम्युनिस्ट प्रणाली भए ड्याम ड्याम विकास गर्न सकिने बताउनु भएको थियो ।