काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिनु भएको छ । कर्मचारी समायोजनका लागि बुधबारदेखि अनलाइन सफ्टवेयर सुरु गरिने भएको छ ।
संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘रास्ट्रपतिबाट प्रमाणीकरण नभइ अध्यादेश सार्वजनिक गर्ने भन्ने कुरा हुँदैन । मुलभूत कुरामा छलफल भएको हो । रास्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द भएको छैन ।’
उहाँले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने बताउनु भयो । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने उहाँको भनाई छ ।
