काठमाडौं । क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नु भएको छ । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमसडे मनाउँदै छन् ।

राष्ट्रपति भण्डारीले देश(विदेशमा रहेका क्रिश्चियन धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना सन्देश दिँदै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ ।
यहाँ मनाइने चाडपर्वहरुले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
‘इसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नहत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, राष्ट्रपतिले आफ्नो शुभकामना सन्देशमा लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनु भएको छ ।क्रिसमसडेका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको सन्देशमा उल्लेख गर्नु भएको छ ।
‘सनातनकालदेखि बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ,’ सन्देशमा लेखिएको छ ।
प्रधानमन्त्री ओलीले क्रिसमस डेका अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।
