संघीयता खारेज गर्नुको विकल्प छैनः केसी

४ पुष २०७५, बुधबार १८:०४

डडेलधुरा– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारको कामै नभएको दाबी गरेका छन्। कार्यकर्ता भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका केसीले बुधबार डडेलधुरा सदरमुकामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा प्रदेश सरकारको कुनै औचित्य नभएको दाबी गरेका हुन्।केन्द्र सरकारले पनि बढीभन्दा बढी बजेट आफूले राख्नुभन्दा पनि गाउँ र नगरपालिकालाई दिनुपर्नेमा उनले जोड दिए। ‘स्थानीय तहलाई दिइएको अधिकार अझैं थप्नुपर्छ।’, नेता केसीले भने, ‘यो प्रदेश सरकारको काम छैन।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने दोहो¥याए। महंगो प्रणाली भएकाले संघीयता खारेज हुनुपर्ने उनको माग छ।

स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने केसीको तर्क छ। केन्द्र र स्थानीय सरकारबीचको समन्वयका लागि प्रदेशलाई प्रशासनिक संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिए।

‘प्रदेशभित्रको मन्त्रीमण्डलको खर्च, कर्मचारीको खर्च केले चल्छ ? , उनको प्रश्न छ, ‘यहीँ नगरपालिका छ, गाउँपालिका छ। त्यहीँमा प्रदेश छ। यी सबै केका खर्चले चल्छन् ? प्रदेशमा हुने खर्च सबै नगरपालिका र गाउँपालिकामा दिनुपर्ने उनको भनाइ छ।

प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा राज्यको एकात्मक प्रणाली नै उपयुक्त भएको उल्लेख गर्दै अध्यक्ष केसीले भने, ‘संघीयता खारेज गर्नुको विकल्प छैन।’

अध्यक्ष केसीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि लगाए। वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा सरकारविरुद्ध विरोध बढिरहेको उनको ठम्याइ छ। ‘नौ महिनामा कायापलट त हुन सक्दैन, तर यो समयमा भ्रष्टाचारीलाई कारबाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ।’