वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ ।
छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, “अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ ।” मन्त्री ज्ञवालीले नेपाल सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई व्यापार, लगानी र सहायताको मार्फतबाट अगाडि बढाउन खाजेको र त्यसमा अमेरिका सकारात्मक रहेको बताए ।
“राजनीतिक बैठकले थप उचाइ हासिल गरेको छ”, उनले भने । मन्त्री ज्ञवालीले अमेरिकी सरकारका उच्च अधिकारीसँगको छलफलमा नेपालले तीनै तहको निर्वाचन सम्पन्न गरेर स्थिर सरकारको जग बसाल्न सफल भएको जानकारी गराएका थिए । नेपाल सरकारको प्राथमिकताको विषयमा जानकारी दिँदै उनले आफ्ना समकक्षी पम्पेओलाई भने, “हामीले सन् २०३० भन्दा अगाडि नै मध्यमस्तरको राष्ट्रको रुपमा स्तरोन्नति हुने लक्ष्य राखेको छौँ ।
दुई देशबीच राजनीतिक तहको सहभागितामा आर्थिक सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र आर्थिक सहकार्यका लागि राजनीतिक तहको सहभागितामा त्यसलाई अभिवृद्धि गर्न सहमति भएको छ । व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमासमेत छलफल भएको छ ।
