काठमाडौँ– काँग्रेस महासमिति बैठकमा समस्या उत्पन्न भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा समस्या उत्पन्न भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि समस्या निम्तिएको हो ।
केसी बोल्दै थिएँ । एकाएक डा महत आएर उनको माइक खोस्न थाले । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ । केसीले विधान नआएसम्म बैठक अघि नबढ्ने भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको पनि दाबी गरे ।
महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए ।
त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । काँग्रेस महासमिति बैठक शनिबारदेखि राजधानीमा जारी छ ।
