काठमाडौँ – पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरीले २०१७ सालमा राजा मेहन्द्रले पञ्चायती व्यवस्था स्थापना गरेपछि पञ्चायतको कट्टरपन्थीका रुपमा परिचित थिए ।
महेन्द्रलाई सहयोग गरेका उनले राजा विरेन्द्रको ३६ सालमा जनमत संग्रहमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । राजा ज्ञानेन्द्रले ०५९ मा शासन हातमा लिएपछि उनी नेपाल फर्किएर ज्ञानेन्द्रलाई साथ दिएका थिए ।
पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।
