सरकारविरुद्ध आन्दोलन गर्न सबैलाई आह्वानः किराँती

१ पुष २०७५, आईतवार १५:२४

काठमाडौं– गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गर्न सबैलाई आह्वान गरेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीले धर्म निरपेक्ष गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नु परेको बताए । उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी पनि गरेको छ । अध्यक्ष किरातीले महाधिवेशनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।