गुट उपगुटले कांग्रेस कमजोर’

१ पुष २०७५, आईतवार १०:२५

शनिवार देखि राजधानीमा कांग्रेस महासमिति भेला सुरु भएको छ । भेलाले नयाँ सन्देश दिने संकेत देखाएको छ । शनिबारको उद्घाटन समारोहमा बोल्दै सबै शीर्ष तहका नेतालेहरुले आन्तरिक एकता नहुँदा कांग्रेस कमजोर भएको स्वीकारेका छन् ।


सभापति देउवाले कांग्रेसभित्र धेरै पहिलेदेखि आन्तरिक एकता नहुनुमा अनुशासन पनि प्रमुख प्रमुख कारक रहेको बताए । केन्द्रदेखि तल्लो तहसम्म अनुशासन कायम गर्न पनि देउवाले जोड दिए । ‘२०४६ पछि कांग्रेस एकपटक निर्वाचनमा सफल हुने र अर्कोपटक खस्कने रोग देखिनुको मुख्य कारण आन्तरिक समस्या नै हो’, उनले भने ।

देउवाले आफू नेतृत्वमा आएदेखि भएका कमीकमजोरी सुधारेर अघि बढ्ने पनि बताए । उनले भने, ‘मेरो गल्तीको आलोचना खुलेर गर्नुहोला । म सुधार गरेर अघि बढ्ने छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रमा मात्र होइन जिल्ला तहमा पनि एक–अर्कालाई छड्के हान्ने परम्परा रहेको भन्दै आन्तरिक एकतामा जोड दिए । उनले आफू केन्द्रमा पनि पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी थिति बसाउन लागिपरेको बताए ।

‘गुटउपगुट मलाई मनै पर्दैन तर यो दलभित्र सधंै देखिन्छ’, उनले भने, ‘यसलाई नेतृत्वले व्यवस्थापन र सम्बोधन गर्न सक्नुपर्छ । बीपी कोइरालाकै पालामा समेत गुटउपगुट देखिएको थियो । पार्टी नेतृत्व गर्नेले यसलाई व्यवस्थापन गर्न सके र स्वच्छ आलोचना पचाउन सके पार्टी बलियो र लोकतान्त्रिक बन्नेछ ।’

उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको चाहना सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सहकार्य नै रहेको बताए । ‘हामीले पार्टी बलियो बनाउँदै आउँदो निर्वाचनमा सफलता हासिल गर्ने हो भने आपसी मतभिन्नता त्याग गर्दै संगठन बलियो बनाउन लाग्नैपर्छ,’ उनले भने, ‘विगतको निर्वाचन परिणामलाई लिएर आपसमा आरोपप्रत्यारोप गर्नभन्दा भविष्यको योजनामा एकजुट भएर लाग्नु सबैको हितमा छ ।’

फोरम लोकतान्त्रिकबाट पुनः कांग्रेसमा फर्केर उपसभापित बनेका विजय गच्छदारले महासमिति भेलाकै मञ्चबाट शीर्ष नेताहरूले एकताको सन्देश दिएर कम्युनिस्टसँग लड्न अघि बढ्नुपर्ने बताए । ‘सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचमा देखिएको तिक्तता हटाउन म स्वयं सक्रिय हुनेछु,’ उनले भने, ‘मञ्चमा नै हात मिलाएर सन्देश दिन दुवै जनालाई आग्रह गर्छु ।’

महामन्त्री डा। शशांक कोइरालाले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच एकता हुनुपर्ने र त्यसका लागि आफूले भूमिका खेल्न तयार रहेको बताए । ‘म सधंै पार्टीभित्र सबै एक हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले मुख्य दुई नेताबीच देखिएको तिक्तता मेटाउनुपर्छ । त्यसका लागि के गर्नुपर्छ त्यो गर्न म तयार छु,’ उनले भने ।

महामन्त्री पूर्णबहादुर खड्काले पार्टीमा देखिएको समस्या सुधार गर्न सबैले आफैबाट पहल गर्नुपर्ने धारणा राखे । ‘म आफ्नो कमजोरी आजैबाट सुधार्ने प्रतिबद्धता गर्छु । यहाँहरूले पनि यसमा जोड दिन आवश्यक छ,’ उनले भने ।

केन्द्रीय सदस्य कृष्ण सिटौलाले महासमितिले पार्टीलाई ठीक दिशा दिन नसके कांग्रेसमा झनै असजिलो अवस्था सिर्जना हुन सक्ने बताए । ‘केन्द्रले नै सबै विषय जान्दछ भन्ने नसोची महासमित सदस्यहरूसँग खुलेर बहस गर्न यो महासमिति भेलालाई म अपिल गर्छु । पार्टीको मुख्य जरा यही भेला हो, केन्द्र मात्र होइन,’ सिटौलाले भने, ‘यहाँहरूको सुझावले नै दल अघि बढ्ने हो ।’

पूर्वमहामन्त्री तारानाथ रानाभाटले पार्टीको अस्तित्व संकटमा परेको भन्दै केन्द्रीय नेतृत्वले आआफ्नो गुट चलाउनुलाई दुर्भाग्यपूर्ण भने । ‘अस्तित्व संकटमा पारेर गुट उपगुट चलाउनु हुँदैन । यसमा नेतृत्व सचेत हुने र समाधान खोज्नेतर्फ लाग्न आवश्यक छ,’ उनले भने । पूर्वउपसभापति प्रकाशमान सिंहले १३आंै महाधिवेशनपछि पार्टीमा बेथिति बढ्न थालेको भन्दै त्यसप्रति सबैलाई ध्यान दिन आग्रह गरे ।

कोषाध्यक्ष सीतादेवी यादवले पार्टीमा व्यापक सुधारको खाँचो रहेको औंल्याइन् । केन्द्रीय नेतृत्व सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् । सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टीभित्र देखिएको कमीकमजोरीलाई सुधार गर्दै आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिए ।

महासमितिले आन्तरिक तिक्तता मेटाउँदै नवीन उर्जाको साथ अघि बढ्ने प्रेरणा दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘१५ वर्षमा लगातार तीन निर्वाचन जितेर देशलाई समृद्धिको दिशामा लैजाने संकल्प महासमितिले गर्न आवश्यक छ,’ उनले भने । भेलामा डा। रामशरण महत, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चित्रलेखा यादव, गोपालमान श्रेष्ठलगायतले पनि बोलेका थिए ।