सय रुपैयाँ भाडा लाग्ने बाटोमा २ सय ५० असुली

१८ मंसिर २०७५, मंगलवार ०९:२८

बैतडी

ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्।

सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो। यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ।

एउटा जिपमा पाँच जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको छ। ‘ सवारीसाधान नपाएपछि घन्टौं हिँडेरै यात्रा गर्नुपर्ने भयकोछ। जिपले चर्को भाडा असुल्ने गरेका छन।

गोकुलेश्वरदेखि गन्नासम्मको भाडा १ सय रुपैयाँ भएपनि अहिले २ सय ५० रुपैयाँसम्म लिने गरेको स्थानीयवासी बताउछन।
प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बढी भाडा असुल्नेलाई कारबाही गरिने बताए। सम्भावित दुर्घटना न्यूनिकरण गर्न थप गरिएका जिपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए।