साङ्घाई
संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ । सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका साथै चिनियाँ मुद्रा युआन केही बलियो भएको छ ।

साङ्घाई कम्पोजिट इन्डेक्स २ दशमलब ५७ अंकले बढेर दुई हजार ६५४ विन्दुमा पुगेको छ अर्थात् करिब ६७ विन्दुले सेयरबजारमा सुधार आएको छ । चीनकै दोस्रो बजार सेन्जेन कम्पोजिट इन्डेक्स पनि ३ दशमलब २७ प्रतिशतले वृद्धि भई एक हजार ३८२ अंकमा बन्द भएको छ ।

हङकङको बजारमा पनि सुधार आएको छ । सेयरबजार २ दशमलब ५५ प्रतिशतले वृद्धि भएको छ र बजारको परिसूचक २७ हजार १८२ मा पुगेको छ । चिनियाँ मुद्रा युआनमा सुधार आई झण्डै १ प्रतिशतले वृद्धि भएको छ, र एक अमेरिकी डलरको ६ दशमलब ८९१४ युआनमा कारोबार भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न जी–२० को बैठकका अवसरमा नयाँ करवृद्धिका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सहमति भएको थियो ।झेसाङ सेक्युरिटिजका विश्लेषक झाङ यानबिङले व्यापारिक सहमतिले चीनमा मध्यकालीनदेखि दिर्घकालीन असर पर्न सक्ने बताए ।
‘पछिल्लो व्यापारिक सहमतिले व्यापार युद्धका कारण सबैभन्दा बढी प्रभावित पारेका उद्योगहरुमा ठूलो राहत मिलेको छ, दूरसञ्चार । लगानीकर्ताहरुले दुवै मुलुकबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ हेर्नुपर्ने हुन्छ ।’ उनले बताए ।
