काठमाडौं–
संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानविन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको हो ।

विद्युत प्रशारण लाईन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने ठेक्कासम्बन्धि विषयमा आर्थिक अनियमितता भएको पाइएपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको समितिका सचिव डा।रोजनाथ पाण्डेले जानकारी दिए ।नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजनासहित देशभर विद्युत पिलरसहितको प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएको छ ।
त्यस कामका लागि ठेक्का दिने प्रक्रियामै आर्थिक अनियमितता देखिएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविनको कामलाई अघि बढाएको हो । छानविनका लागि समितिले सो सम्बन्धि आवश्यक कागजात समेत नेपाल विद्युत प्राधिकरणबाट झिकाउने काम सुरु गरिएको पनि सचिव पाण्डेले बताए ।
