जोर बिजोर प्रणाली जनतालाई सास्ती दिनका लागि, अवज्ञा गरौं गगन थापा

१३ मंसिर २०७५, बिहीबार १४:१७

काठमाडौं–

कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन युपिएफ को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटमा आउने पाहुनाहरुका निम्ति सहज यात्राका लागि सरकारले जोर बिजोर प्रणाली लागू गरेपछि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त भएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सडक किनारामा सकस व्यहोरिरहेका यात्रुहरुको फोटो राख्दै सरकारको निर्णयको आलोचना गरेका छन्। उनीहरुले एउटा एनजिओको कार्यक्रममा आउने पाहुनाहरुको निम्ति पनि सरकारले आम मानिसलाई दुःख दिएको बताएका हुन्।

सरकारको निर्णयको विरोध गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले जोर बिजोर प्रणालीको अवज्ञा गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा कांग्रेस शुभेच्छुक संस्था युथ कंग्रेस नेपालुको आह्वान उल्लेखित फोटो समेत राखेर थापाले भनेका छन्– सही कामको लागि सरकारले आह्वान गर्दा जोर बिजोर मात्रै होइन, गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ। तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं।

मंसिर १४ देखि १७ सम्म हुने कार्यक्रममा लागि भन्दै १३ र १५ गते बिजोर र २४ र १६ गतेका लागि जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ। आफैंमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती व्यहोर्नुपर्नेु, युथ कंग्रेस नेपालको आह्वानमा भनिएको छ।सुरुमा नेपाल सहआयोजक रहेको सो कार्यक्रमको व्यापक विरोधपछि भने नेपाल पछि हटेर सहयोगी मात्रै भएको छ। कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्दैछन्।कार्यक्रममा सहभागी हुन विभिन्न देशका पाहुना आउने क्रम जारी छ। समिटमा सहभागितका लागि म्यानमारकी स्टेट काउन्सिलरु आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्।