काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।उनले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताए ।
मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे ।मन्त्री अधिकारीले आगामी मार्च भित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि पारे ।
सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको भन्दै उनले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाए । मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताए ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।
