दैलेखमा जिप दुर्घटना, दुईजनाको मृत्यु, ६ घाइते

१२ मंसिर २०७५, बुधबार १०:०९

दैलेख

ठाँटिकाँध गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सुर्खेतबाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ८ बजेतिर वडा नम्बर ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नम्बर १ का अन्दाजी ३० वर्षीय निर्मल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रेमबहादुर क्षेत्रीले दिएका छन्। घाइते ६ जनाको नाम र ठेगाना खुल्न सकेको छैन। उद्धारका लागि वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर शाही लगायतको टोली घटनास्थल पुगेको छ। गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही लगायत ठाँटिकाँध प्रहरी चौकीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ। यता चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट एम्बुलेन्ससहित नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीको टोली पनि घटनास्थलतर्फ गइरहेको बताइएको छ।