काँग्रेस जिल्ला सभापतिहरुको भेला ककनीमा

११ मंसिर २०७५, मंगलवार १२:३७

काठमाडौं । काँग्रेसका देशैभरका जिल्ला सभापतिहरूको भेला मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा हुँदैछ ।सभापतिहरुको भेलाले मंसिर अन्तिम साता हुने महासमिति बैठकमा सभापतिहरुको तर्फबाट सामूहिक धारणा तय गर्ने आयोजक नुवाकोट काँग्रेसका सभापति जगदीशनरसिंह केसीले आयोखवर डटकमलाई बताएका छन ।

असार पहिलो साता मकवानपुरको हेटौंडामा चुनावमा पराजयको कारण खोजी गरी समीक्षा गर्न भेला भएका जिल्ला सभापतिहरूको घोषणापत्र कागजमै सिमित भएको छ । यस बेला महासमिति बैठकअघि भेला गर्न लागेका काँग्रेस सभापतिहरुको यो मेला कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । भेलाले पदाधिकारी संख्या, पार्टी सदस्यता, केन्द्रीय कार्यसमितिको आकार, प्रदेश संरचना, विशेष परिस्थितिको व्याख्यालगायत मुद्दामा साझा धारणा बनाउनेछ । यी विषय विधान संशोधन समितिमा समेत विवादित छन् ।साथै महासमिति बैठकमा प्रस्तुत गर्ने सामूहिक धारणा तय गर्नुका साथै समसामयीक राजनीतिक घटना र सरकारका कामकारबाहीबारे पनि छलफल हुने केसीले बताएका छन् । उनका अनुसार पार्टीको विधान मस्यौदा समितिले तयार गरेको मस्यौदामा देखिएका असहमतिलाई केन्द्रीय कमिटीबाट टुङ्गो लगाउन दबाब दिने र आफूले दिएका सुझाव सल्लाह सम्बोधन हुने नहुनेबारे छलफल हुनेछ ।