विमानले लैजान नमानेपछि निर्मलाका बुवालाई गाडीबाटै काठमाडौं 

९ मंसिर २०७५, आईतवार ०९:२३

कञ्चनपुर –

मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ ।

मानसिक रुपमा अस्वस्थ बन्नुभएका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि  शनिबार गाडीबाटै काठमाडौं पठाइएको हो ।

यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयलेनिर्मलाका बुवा लाई विमानमा लैजान अस्वीकार गरेपछि राति नै गाडीबाट पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताए ।

विमानबाट काठमाण्डौ लैजान सम्भव नदेखिएपछि राती सेती अञ्चल अस्पतालमा जाँच गरी प्रहरी र चिकित्सकको रक्षाकाबीच गाडीबाट काठमाडौं पठाइएको बताए ।

‘गाडीलाई तोडफोड गर्ने मान्छेलाई हान्नेजस्ता गतिविधिले गर्दा विमानमा लैजान सम्भव देखिएन’ प्रहरी प्रमुख कडायतले भने ‘त्यसैले सेती अस्पतालमा सामान्य जाँच गरेपछि राति साढे १० बजे तिर प्रहरी र एकजना चिकित्सकसहित गाडीमा पठाएका छौँ ।’

छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडी धर्नामा बसे का उनको  मानसिक अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडौं लाने तयारी भएको थियो । महेन्द्रनगरबाट धनगढीसम्म लैजाने क्रममा उनले गाडी तथा विमानस्थलमा देखाएको गतिविधिका कारण विमानबाटै लैजान समस्या भएको हो ।