काठमाडौं –
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छन ।

महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा जारी गरीएको शुभकामना सन्देशमा बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताएकी हुन।
राष्ट्रिपति भण्डारीले महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गरीएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णयबमोजिम नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।
