चितवन जिल्लाको विकास तीव्र गतिमा हुन्छः अध्यक्ष प्रचण्ड

६ मंसिर २०७५, बिहीबार १५:४४

चितवन– नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।

भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उनले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताए ।

सो अवसरमा उनले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए । कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।’ यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध शुरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट शुरु हुने बताए ।

कार्यक्रममा उनले भने, ‘म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढीनै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।’ अध्यक्ष दाहालले विगत १२÷१५ महिनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताए । भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उनले बताए । उनले भने, ‘माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।’