लागुऔषध र रिभल्वरसहित २ जना पक्राउ

४ मंसिर २०७५, मंगलवार १०:५५

काठमाडौँ । लागुऔषध र रिभल्वरसहित दुई जना राजधानीबाट पक्राउ परेका छन् ।‘भक्तपुरतर्फबाट मोटरसाइकलमा लागू औषध कारोवार आउँदै छ,’ भन्ने विशेष सूचनाको आधारमा चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भएका २७ वर्षीय मनपुरण चौधरी र सोही स्थानका २७ वर्षीय भुवन परियार रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होमिन्द्र वोगटीका अनुसार सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वानेश्वर, कोटेश्वर र कांडाघारीको प्रहरी टोलीले भक्तपुरबाट आउने नाकाहरुमा चेकप्वाईन्ट राखि चेकजाँच गरेको थियो ।

सोही क्रममा मंसिर २ गते करिब साढे ६ बजेको समयमा कामनपा–३२ जडिवुटी ढुङ्गेधारा नजिक ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तीहरुको चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध र रिभल्वर फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथमा ८४० वटा नाईट्रभेट ट्याब्लेट र रिभल्वर एक थान फेला परेको थियो ।

दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त वानेश्वरमा वरामद सामानसहित राखिएको छ ।